हेटौँडा, आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन देशभर श्रद्धा र सम्मानपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा सन्तानहरूले आफ्नी आमाप्रति कृतज्ञता प्रकट गर्दै मिठाई, फलफूल तथा उपहार दिएर सम्मान गर्ने चलन रहेको छ।
आमा नभएका व्यक्तिहरू भने काठमाडौंको मातातीर्थलगायत विभिन्न पवित्र स्थलमा गई स्नान तथा तर्पण गरेर दिवंगत आमाको सम्झना गर्ने गर्दछन्। विशेषगरी मातातीर्थ कुण्डमा स्नान गरी आमाको सम्झनामा पूजा अर्चना गर्ने परम्परा रहिआएको छ।
नेपाली समाजमा आमालाई जीवनदात्री र पहिलो गुरुका रूपमा उच्च स्थान दिइन्छ। आजको दिन विशेषगरी आमाप्रति सम्मान, माया र कर्तव्यबोध झल्काउने दिनको रूपमा लिइन्छ। आमाबाट टाढा भएकाहरूले पनि फोन, भिडियो कल वा विभिन्न सन्देशमार्फत शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहीआएको छ।







