हेटौंडा, हेटौंडाको हुप्रचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालय भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइनल खेलमा हेटौंडा एकेडेमी आवासीय विद्यालयलाई ७ विकेटले पराजित गर्दै आधुनिकले फाइनलमा स्थान बनाएसँगै अन्तिम दुई पुग्ने टोलीको टुंगो लागेको हो ।
सिद्धार्थ शिशु सदन विद्यालयलाई पराजित गर्दै पहिलो संस्करणको विजेता भुटनदेवी फाइनल पुगिसकेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा सुरूमा ब्याटिङको निम्तो पाएको हेटौडा एकेडेमी १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ८९ रनमै सिमित बन्यो । एकेडेमीका सौरभ चौधरीले १३ रन र कृशराज ठाकुरले १२ रन बटुल्न बाहेक अरु ब्याट्सम्यानले रन जोड्न सकेनन् । एकेडेमीलाई सस्तैमा समेट्न आधुनिकका प्रिन्स यादवले ४ विकेट लिए । ९० रनको झिनो लक्ष्य पाएको आधुनिकले १३ दशमलव २ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य भेट्टाएको हो ।
आधुनिकका आशिक अधिकारीले ३६ रन र प्रिन्स यादवले १७ रन जोड्न सफल भए । एकेडेमीका लालबाबु अली, एमडी असन र इशान्त भण्डारीले समान १ विकेट लिए । प्रतियोगितामा ४ विकेट लिएका आधुनिकका प्रिन्स म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल सोमबार हुने प्रतियोगिता संयोजक संजोग पोखरेलले जानकारी दिए ।
गत माघ २७ गते हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले आयोजना गरेको क्रिकेट प्रतियोगितामा भुटनदेवीलाई ७ रनले पराजित गर्दै आधुनिक विजयी भएको थियो । मकवानपुर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा मकवानपुर जिल्लाका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः नगद ४० हजार र २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।






