सहकारीले उत्पादनमुलक काम गर्नुपर्छ : डिना

हेटौंडा, नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सहकारीले वचत र ऋणसँगै अब उत्पादनमुलक काम गर्नुपर्नेमा जोड दिएकी छिन् । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव एवम् रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन, पुरस्कार वितरण एवम् सामुदायिक सम्मान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी समयानुकूल सन्चालन हुनुपर्ने धारणा राखेकी हुन् । पछिल्लो समय धेरै सहकारी घोटला, हिनामिना लगायतको घटना आइरहेको भन्दै उनले शेयर सदस्य सचेत रहनुपर्ने सुझाव दिइन् ।

ADVERTISEMENT

रेडियो मकवानपुरले सामुदायिक रेडियोको धर्म निर्वाह गर्दै सबै क्षेत्रलाई समेटेर काम गरिरहेकोप्रति खुसी व्यक्त गरिन् । दिव्यतारा सहकारीका संस्थापक अध्यक्ष समेत रहेकी डिना धार्मिक अगुवा र लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सन्चालन गरिरहेका व्यक्तिलाई सामुदायिक सम्मान प्रदान गरेकोमा प्रशंसा गरिन् । मकवानपुरको विकासका आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय एवम् पहलका लागि सदैव तयार रहेको उनको भनाई थियो । दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, रेडियो मकवानपुर सन्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित पास भएका शेयर सदस्यका छोराछोरीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवमा सहिद विषयमा साहित्यकार सँगको अन्तरक्रिया एवम् रचना वाचन, हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण, ओम बृद्धाश्रमलाई खाद्यान्न वितरण, रेडियो मकवानपुर मिडिया कप फुट्सल प्रतियोगिता, मनहरी ५ मा निशुल्क स्वास्थ्य शिविर र बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला आयोजना भएको थियो । वार्षिकोत्सव समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, हेटौंडा ६ नम्बर वडा अध्यक्ष बिष्णुबहादुर दाहाल, ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कंडेल लगायतको आतिथ्यता थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *