दुधको भुक्तानी माग्दै मकवानपुरका किसान सडकमा

हेटौंडा, मकवानपुरका दुग्ध उत्पादक किसानले दूधको भुक्तानी पाउनुपर्ने माग राख्दै विहीबार सडकमा उत्रेका हुन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा किसानले राजमार्ग बन्द गरी प्रदर्शन गरेका हुन्।

ADVERTISEMENT

उनीहरूले हेटौँडा बजार छिर्ने चारवटा मुख्य नाकाबाट प्रदर्शन गर्दै हेटौँडाको मुख्यचोक बुद्धचोकमा भेला भई राजमार्ग बन्द गराएका थिए। जिल्लाको विभिन्न पालिकाबाट आएका किसान बुद्धचोकमा जम्मा भई विभिन्न ब्यानर तथा प्लेकार्डसहितको र्‍याली प्रदर्शन गर्दै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअघि पुगेर धर्ना दिएका थिए। किसानले दुधको भुक्तानी तत्काल पाउनुपर्ने, दुध बिक्रीको ग्यारेन्टी गर्नुपर्ने, मिल्क होलिडको अन्त्य हुनुपर्ने, दुधको लागत मूल्य निर्धारण हुनुपर्ने, उत्पादनका आधारमा अनुदान पाउनुपर्ने, सहुलियत कर्जा पाउनुपर्ने, दुग्धजन्य पदार्थको निर्यातको प्रबन्ध गर्नुपर्ने, पशुधन संरक्षण कार्यक्रम लागू गर्नुपर्नेलगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरूबाट ६ महिनादेखि भुक्तानी पाउन नसकेको बताए।

ADVERTISEMENT

उनले यस अवधिमा करिब ६० करोड रुपैयाँ किसानले भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए। यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *