हेटौंडा, छिमेकी जिल्ला (चितवन) मा भएको १४ औँ बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा काठमाडौं च्याम्पियन बनेको छ ।
विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, १२ रजत ९ कास्यसाथ सग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषदले आयोजना गरेको प्रतियोगितामा चितवन १० स्वर्ण, ६ रजत र १३ कास्यसहित दोस्रो हुन सफल भएको बागमती प्रदेश बोर्ड सदस्य तथा कार्यक्रम संयोजक अभिलाष मैनालीले जानकारी दिए । प्रतियोगितामा ललितपुर तेस्रो हुँदा मकवानपुरले चौथो स्थानमा चित्त बुझायो ।
ललितपुरले ५ स्वर्ण, ४ रजत र ६ कास्य जितेको हो । मकवानपुरले ४ स्वर्ण, २ रजत र १२ कास्य प्राप्त गर्न सफल भयो । मकवानपुरले एथ्लेटिक्स विद्यामा ३ स्वर्ण र तेक्वान्दोमा १ स्वर्ण गरी ४ स्वर्ण जित्न सफल भएको हो । प्रतियोगितामा विजेतालाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कराते, तेक्वान्दो, भलिबल, कबडी, उसु र एथ्लेटिक्स विधाका खेलहरू सञ्चालन भएका थिए ।







