हेटौंडा, नेपाली कांग्रेस वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ। संघमा माओवादी केन्द्रसहितको गठबन्धन नै भत्किएपछि प्रदेश सरकारमा रहनु उचित नभएको भन्दै कांग्रेसका मन्त्रीहरुले बुधबार राजीनामा दिएका हुन् ।
सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् । जसअनुसार कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । २५ पुसमा माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपाबीचको सरकार बनेको थियो । तर त्यतिबेला केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री जम्कट्टेलले २६ चैत २०७९ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।
कांग्रेसबाट २६ चैतमै आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुर सिं लामा र खानेपानी तथा सिँचाइ मन्त्रालयमा तीर्थबहादुर लामा मन्त्री नियुक्त भएका थिए । त्यसपछि ७ जेठ २०८० मा वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी मन्त्री नियुक्त भएका थिए । कांग्रेसबाट ७ जेठमै नियुक्त भएका मन्त्री रामकृष्ण चित्रकारलाई मुख्यमन्त्री कार्यालयमा एउटा कार्यकक्ष उपलब्ध गराएर करिब साढे ३ महिना विनाविभागीय राखिएको थियो ।
चित्रकारले १७ भदौमा मात्रै उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए । १२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय भागबण्डा गरेर सरकार बनाएका थिए । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकार बाहिरै थियो ।






