कृशु अर्यालको ‘पल्लवित पाइला’ किताब विमोचन

हेटौंडा, हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयकी पूर्व विद्यार्थी कृशु अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ किताब विमोचन भएको छ । विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी अर्यालको पहिलो कृति पल्लवित पाइला किताब विमोचन गरेको हो ।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका निखिलले कविले समाजलाई सही बाटो पहिल्याउन र देखाउनु पर्नेमा जोड दिए । ‘साहित्य भाषामा अनेक विधा हुन्छन् ।’ निखिलले भने –‘कविता विधा अरु साहित्य भाषा भन्दा फरक हुनुपर्छ ।’

साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले कृशु अर्यालको कविता सङ्ग्रहको समिक्षा गरेका थिए । ३७ वटा कविता समावेश भएको अर्यालको पुस्तकमा थोरै सम्पादनको खाचो आवश्यक रहेको बानियाँले औल्याएका थिए । अर्यालद्वारा लिखित पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको सापकोटाले बताइन् । स्थानीय पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समावेश गरी पुस्तक तयार गरेको लेखक कृशु अर्याल बताउँछिन् ।

बालजागृति विद्यालयको माया, शिक्षक तथा हजुरबुवा दुण्डिराज पोखरेलको हौसलाले गर्दा पुस्तक प्रकाशनमा सहयोग मिलेको उनले बताइन् । उक्त पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा ढुण्डिराज पोखरेल रहेका छन् । दृढ स्वभाव भएकी कृशु अर्याल सानै उमेरदेखि शब्द खेलाउनमा माहिर रहेकी विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले बताए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याल, विभिन्न साहित्य संस्थाका प्रतिनिधि तथा साहित्यकारहरूको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *