हेटौंडा, विविध कार्यक्रमकाबीच हेटौंडा लेडीको जेसीज सप्ताह समापन भएको छ । शनिबार जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको हो । जेसीज सप्ताहको क्रममा आयोजित विभिन्न कार्यक्रमका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रम संयोजक ईन्दिरा बानियाँको संयोजकत्व एवम् जेसीजका अध्यक्ष डिलमाया घर्ती दिलुको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पौडेलले जेसीजले अवलम्वन गरेको विधिको शासनलाई सबैले मान्नुपर्ने धारणा राखे ।
जेसीजमा हुुने हार्दिकताका साथ नेतृत्व चयन र हस्तान्तरणलाई राजनीतिक दलसहित सबै संस्थाले अनुसरण गर्नुपर्ने उनको सुझाव थियो । पछिल्लो समय युवा शक्ति विदेश पलायन भैरहेकोमा चिन्ता व्यक्त गर्दै उनले विदेश पलायन रोक्नु आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री एकालाल श्रेष्ठ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, हेटौंडा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौला, चन्द्रनिगाहपुर सिटी जेसीज अध्यक्ष चिरञ्जीवी गौतम, मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष अनिल अग्रवाल, लेडी जेसीजका पूर्व अध्यक्ष सुशीला पौडेल, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अस्मिता न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जेसीज सप्ताह अन्तर्गत हेटौंडा–१ मा रक्तदान कार्यक्रम, स्व. बुद्धरत्न शाक्य स्मृति खुला वक्तृत्वकला प्रतियोगिता, चौकीटोलको ओम वृद्धाश्रममा खाद्यान्न वितरण, बैठक सञ्चालन प्रणाली तालिम, स्लो स्कुटी रेस, मनहरी १ चकरीको विद्यालयमा स्व. बासुप्रसाद पौडेल स्मृति शैक्षिक सामग्री हस्तान्तरण र हेटौंडा ५ मा रहेको हाम्रो घर बालगृहमा सरसफाइसँगै सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना भएको थियो ।






