हेटौंडा, हेटौंडा उपमहानगरपालिकामा आइतबारबाट आधारभूत तह कक्षा ८ को परीक्षा सुरु भएको छ । ८३ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा ३ हजार ३ सय परीक्षार्थी सहभागी छन् ।
नगरका सामुदायिक र संस्थागत गरी ८३ विद्यालय सहभागी परीक्षा चैत १० गतेसम्म सञ्चालन हुने शिक्षा महाशाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिए । दिउँसो १ बजेदेखि सुरु भएको परीक्षामा पहिलो दिन आज गणित विषयको परीक्षा लिइएको छ ।
पहिलो दिनको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सापकोटाले जानकारी दिए । चैत ५ गते अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालिएको हो ।






