कक्षा ८ को परीक्षामा मकवानपुरका ८ हजार विद्यार्थी

सबैभन्दा बढी हेटौंडा, कम इन्द्रसरोवरमा
हेटौंडा, मकवानपुर जिल्लामा आधारभूत तह (कक्षा ८)को अन्तिम परीक्षामा मकवानपुर जिल्लाबाट ८ हजार ६१८ जना परीक्षार्थीले सहभागिता जनाउँदै छन् । परीक्षामा सम्मिलित सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका विद्यार्थी रहेको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिका रहेको छ । कैलाश गाउँपालिकाले फागुन ३० गतेबाट कक्षा ८ को परीक्षा सञ्चालन गर्दै छ भने अन्य गाउँपालिकाले चैत महिनाको पहिलो साताबाट कक्षा ८ को परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।

कक्षा ८ को परीक्षाका लागि हेटौंडा उपमहानगरपालिकामा ४ हजार ३ सय जना, मनहरी गाउँपालिकामा १ हजार जना, थाहा नगरपालिकामा ५९५ जना, बकैया गाउँपालिकामा ७४६ जना, भीमफेदी गाउँपालिकामा ३६८ जना, कैलाश गाउँपालिकामा ३५६ जना, राक्सिराङ गाउँपालिकामा ३७४ जना, बागमती गाउँपालिकामा ३१७ जना, इन्द्रसरोवर गाउँपालिकामा १८० जना र मकवानपुरगढी गाउँपालिका ३८२ जना विद्यार्थी रहेको सम्बन्धित गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । कक्षा ८ को परीक्षाका लागि हेटौंडा उपमहानगरपालिकाले तोकेको ८३ वटा परीक्षा केन्द्रबाट ४ हजार ३ सय विद्यार्थीले सहभागिता जनाउन लागेको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिए ।

‘हेटौंडा उपमहानगरपालिकामा रहेको सामुदायिक तथा संस्थागत गरी ८३ वटा विद्यालयलाई केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागेका छौँ,’ सापकोटाले भने, ‘परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकेका छौँ ।’ कक्षा ८ को परीक्षामा सम्मिलित ४ हजार ३ सय विद्यार्थीमध्ये संस्थागतका १ हजार ४३१ जना र सामुदायिकका २ हजार ८६९ जना विद्यार्थी रहेका छन् । दिउँसो १ बजेबाट सुरु हुने परीक्षाको सम्बन्धित विद्यालय नै परीक्षा केन्द्र तोकेको छ । चैत ४ गतेबाट सुरू हुने परीक्षाको पहिलो दिन गणित, चैत ५ गते अङ्ग्रेजी, चैत ६ गते नेपाली, चैत ७ गते विज्ञान तथा प्रविधि, चैत ८ गते सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, चैत ९ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला र चैत १० गते स्थानीय विषयको परीक्षा सञ्चालन हुने छ । यसैगरी चैत १ गतेबाट थाहा नगरपालिकामा कक्षा ८ को परीक्षा सुरू हुँदैछ ।

आधारभूत तह कक्षा ८ को परीक्षामा थाहा नगरका ५९५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । थाहा नगरपालिकामा सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालय रहेका छन् । जसमध्ये ८ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागेको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख सूर्यबहादुर थिङले जानकारी दिए । शिक्षा शाखाले तोकेको परीक्षा केन्द्र बाहेक अन्य विद्यालयका प्रधानाध्यापकलाई परीक्षाको लागि केन्द्राध्यक्ष तोकेको उनले जानकारी दिए । आधारभूत तह कक्षा ८ को परीक्षाका लागि मनहरी गाउँपालिकाबाट १ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । मनहरी गाउँपालिकामा चैत ४ गतेबाट परीक्षा सञ्चालन हुने मनहरी गाउँपालिका शिक्षा अधिकृत प्रदीप पराजुलीले जानकारी दिए । मनहरी गाउँपालिकामा १८ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागेको उनले बताए ।

परीक्षामा सहभागी हुने १ हजार विद्यार्थी मध्ये ९ सय जना सामुदायिक विद्यालय र १ सय जना संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् । बकैया गाउँपालिकामा ७४६ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदैछन् । बकैयाका शिक्षा अधिकृत आइतराम तामाङका अनुसार चैत २ गतेबाट सञ्चालन हुने परीक्षाको लागि बकैयाका २२ वटै विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागिएको छ । भीमफेदीबाट कक्षा ८ परीक्षाको लागि ३६८ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । भीमफेदीमा रहेका १४ वटा माध्यमिक विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएको गाउँपालिकाका शिक्षा अधिकृत चक्र साउदले जानकारी दिए ।

भीमफेदीमा चैत १ देखि ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । कैलाशमा यही फागुन ३० गतेबाट सञ्चालन हुने परीक्षामा ३५६ जना सहभागी हुँदैछन् । कैलाशका १० वटा विद्यालयलाई केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागेको शिक्षा शाखा प्रमुख दीपेन्द्र अधिकारीले जानकारी दिए । चैत २ गतेबाट राक्सिराङ गाउँपालिका, बागमती गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकामा कक्षा ८ को परीक्षा सुरू हुँदै छ भने मकवानपुरगढी गाउँपालिकामा चैत ४ गतेबाट सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button