हेटौंडा, १३ औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको बुद्ध माविले जितेको छ । यो उपाधीसँगै लगातार ३ पटक प्रथम स्थान हासिल गर्न सफल भएको बुद्ध माविले रनिङ शिल्ड पनि हात पार्न सफल भएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले बुद्ध माविलाई रनिङ शिल्ड हस्तान्तरण गरकी हुन् ।
बुद्ध मावि ११ औँ, १२ औँ, र १३ औँ, जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुँदै आफ्नो वर्चश्व कायम गरेको हो ।
शनिबार र आइतबार दुई दिन भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा बुद्ध माविले १० स्वर्ण ३ रजत र ४ कास्य जितेको छ । त्यसैगरी ३ स्वर्ण, ६ रजत र ३ कास्य सहित हेटौंडाको जनप्रिय माध्यमिक विद्यालय द्वितीय भएको छ भने ३ स्वर्ण, ४ रजत र २ कास्यसहित जनकल्याण मावि तेस्रो भएको छ ।
गत १२ औँ जिल्लास्तरिय राष्ट्रपति प्रतियोगितामा जनकल्याण मावि दोस्रो भएको थियो भने जनप्रिय मावि तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा एथलेटिक्स, भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूटलगायतका विभिन्न विधिका खेल छात्र/छात्रा दुवैतर्फ खेलाइएको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्डमा विजेता बनेका खेलाडीहरुले बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सहभागीता जनाउने छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरसँग छलफल गरी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउने खेलाडीलाई आवश्यक सहयोग गरिने मेयर लामाले बताइन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का अध्यक्ष जुना दहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइरालालगायतको आतिथ्यता रहेको थियो ।






