पटके रुट परमिट अनलाइनबाटै

हेटौंडा, बागमती प्रदेश सरकारले अनलाइनबाटै पटके रुट परमिट दिने व्यवस्था मिलाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले रुट परमिट लिन यातायात व्यवस्था कार्यालयमा हुने सेवाग्राहीको भीडलाई नियन्त्रण गरी प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले सो व्यवस्था ल्याएको हो । यातायातमन्त्री लक्ष्मण लम्सालले मंगलबारबाट अनलाइन रुट परमिट दिने कार्यको शुभारम्भ गरेका छन्।

सेवाग्राहीले कार्यालयको ‘भीआरएस’ सिस्टमको प्रयोग गरेर अनलाइन रुट इजाजत लिन सक्ने प्रदेश सचिव बलराम निरौलाले बताए । उनका अनुसार अनलाइनबाटै राजश्व पनि तिर्न सकिन्छ भने सेवाग्राहीले २४ सैं घण्टा सेवा लिन सक्नेछन् । ‘पहिले काठमाडौं उपत्यकाको दुईटा र मकवानपुर, खुर्कोट र भरतपुरबाट पटके रुट इजाजत लिन सकिन्थ्यो ।

पटके लिन आउने सेवाग्राहीको भीड थेगिनसक्नु भएपछि यो व्यवस्था गरेका हौं । अब सेवाग्राहीले सहजै रुट परमिट लिन सक्नुहुन्छ’, निरौलाले भने ।

प्रदेश सरकारले हरेक ५० किलोमिटर दुरीलाई १ युनिट कायम गरी एक पटकमा १५० रुपैयाँका दरले पटके रुट इजाजत शुल्क उठाउने गरेका थियो । हरेक ५० किलोमिटरको दुरीमा इजाजत शुल्क १५० रुपैयाँका दरले थप हुने सो मन्त्रालयले जनाएको छ ।

उक्त सेवा पहिलो चरणमा काठमाडौं उपत्यकासहितका ६ वटा यातायात व्यवस्था कार्यालयबाट पाइनेछ । जसमा यातायात व्यवस्था कार्यालय खुर्कोट, सिन्धुली, यातायात व्यवस्था कार्यालय साना÷ठुला सवारी एकान्तकुना, ललितपुर, यातायात व्यवस्था कार्यालय, हेटौडा मकवानपुर, यातायात व्यवस्था कार्यालय, भरतपुर चितवन, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौँ ढुंगेअड्डा र यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button