हेटौंडा, नगर खेलकुद विकास समिति हेटौंडा १३ को संयोजकमा अमृत लुङ्बा चयन भएका छन् । बिहीबार भएको भेलाले लुङ्बाको संयोजकत्वमा कार्यसमिति गठन गरेको हो ।
समितिको सदस्यमा श्यामकुमार लामा, प्रमिला राई, मदन बल, उमेश लुङ्बा, विशाल थिङ, कमल मोक्तान, ज्ञानु मोक्तान, कविन सिन्तान र तेजबहादुर वाइबा रहेका छन् । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा अध्यक्ष पेम्बा लामाको उपस्थितमा खेलकुद विकास समिति वडा समिति गठन भएको हो । संयोजकमा चयन भएका लुङ्बा मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष समेत हुन् । स्थानीयको मागको आधारमा संयोजक पदमा रहेर काम गर्न लागिएको लुङ्बाले बताए ।
‘फुटबल संघ मकवानपुरको कोषाध्यक्ष भएर जिल्लाको फुटबलको विकासमा लागिपर्दै आएको छु’, उनले भने, ‘खेलकुद विकास समितिको वडा संयोजकको रुपमा सबै खेल क्षेत्रलाई उत्तिकै महत्वका साथ अघि बढाउने दायित्व आएको छ । वडाको योजना अनुसार खेलकुदको विकासमा लाग्नेछु ।’ वडा अध्यक्ष लामाले खेलकुद बुझेकै युवालाई खेलकुद विकास समिति हेटौंडा १३ को संयोजकको जिम्मेवारी दिएसँगै खेल क्षेत्रको विकासले नयाँ उचाई लिने विश्वास व्यक्त गरे । हेटौंडा १३ मा खेलकुदसँगै शिक्षा र भूमि समिति समेत गठन भएको छ ।







