हेटौंडा/कोयस्ट नेपाल अन्तर्गत सिमरा हब र युनाइटेड हब, मिसन एकेडेमी उचिडीको संयुक्त सहकार्यमा भएको दुईदिने विद्यार्थी गुणीय र चक्रीय सम्मेलनमा सम्पन्न भएको छ । गत भदौँ २४ र २५ गते बाराको मिसन एकेडेमी उचिडी विद्यालयमा भएको कार्यक्रममा हेटौंडामा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, सिमरामा रहेको अक्षर पाठशाला, ब्राइटर एकेडेमी, लोटस एकेडेमीलगायत अन्य १० वटा विद्यालयले कार्यक्रममा सहभागिता जनाएका थिए ।

मिसन एकेडेमीका प्रबन्ध निर्देशक सन्दिप लामाको अध्यक्षतामा भएको कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका मेयर राजन पौडेलले कार्यक्रम उद्घाटन गरेका थिए । आत्म विश्वासी, आत्म अनुशासित, अन्तरसम्बन्धमा विस्तार, सहानुभूति भावना जागृत, सामाजिक उत्तरदायित्व वहन, समय व्यवस्थापन कला, वैज्ञानिक तथा विश्लेषणात्मक सिपमा विकास, सञ्चार सिपमा विकास, सृजनात्मक तथा पाश्र्वसोचको बानी, सहकार्यात्मक तथा सहयोगात्मक भावना जागृत, समूहमा काम गर्ने बानी, फराकिलो दृष्टिकोण गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको थियो ।

विद्यार्थीले केस स्टडी तथा प्यानल छलफल गर्नुका साथै फोटोग्राफी कार्यशाला, अभिनय तथा नाट्य कार्यशाला, उद्घोषण तथा सञ्चार सीप कार्यशाला कार्यक्रम भएको थियो । विद्यार्थीलाई लक्षित गरी सहकार्य कार्यात्मक कोलाज प्रतियोगिता, सहकार्यात्मक कथा लेखन प्रतियोगिता, सहकार्यात्मक गुणीय हाजिरीजवाफ प्रतियोगिता पनि भएको थियो । कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका १८ नम्वर वडाध्यक्ष चतुर बाबु वाग्ले, कोयस्ट नेपालका महासचिव सिंगा लामालगायतको आतिथ्यता रहेको थियो ।







