उपाध्यक्ष कप भलिबलको उपाधि वडा ३ को कब्जामा

कैलाश \ गतवर्षको साविक विजेता वडा ५ लाई हराउँदै वडा ३ ले चौथो उपाध्यक्ष कप रनिङ शिल्डको उपाधि कब्बा गरेको छ । आइतबार भएको फाइनल खेलमा वडा ३ ले वडा ५ लाई २५-१२,२२-२५, २५-२३, २५-२१ अङ्कले पराजित गर्दै उपाधि हात पारेको हो । खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईवाको अध्यक्षतामा भएको फाइनल खेलमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको विशेष आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा सात विधामा खेलाडीलाई पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट प्रशिक्षकमा वडा ३ का श्रीराम महर्जन, उत्कृष्ट खेलाडीमा वडा ३ का नवराज मुक्तान, उत्कृष्ट ब्लकर वडा ५ का हिरा लो, उत्कृष्ट स्पाईकर वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डर वडा ५ का विजय तामाङ, उत्कृष्ट सेटर वडा ५ का गोविन्द मुक्तान र उदयमान खेलाडीमा वडा ८ का विधान थिङलाई पुरस्कृत गरिएको थियो ।

कैलाश ३ भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा विजेताले ७५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेता ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा वडाको सहभागीता रहेको समितिका अध्यक्ष मोहन वाइवाले बताए । भलिबल खेल पहिलो चरणमा लिग र दोस्रो चरण देखि नकआउटमा खेल खेलाइएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले खेलकुद स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणको महत्वपूर्ण आधार रहेकाले यसलाई मध्यनजर गर्दै हाम्रो गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विभिन्न खेलकुदका कार्यक्रम तथा पूर्वाधार निर्माणका कार्यहरू गरिरहेको बताए ।

गाउँपालिकाभित्र रहेका खेल मैदानहरूको स्तरोन्नति, नयाँ खेल पूर्वाधार निर्माण, विद्यालयस्तरीय तथा पालिकास्तरीय खेलकुद प्रतियोगिताको आयोजना, खेल सामग्री वितरण तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताए ।

कार्यक्रमा गाउँपालिकाका उपाध्यक्ष मल्लले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले गाउँपालिकाले विभिन्न खेल विधाको विकास र विस्तारमा विशेष ध्यान दिइएको बताए ।
हामीले खेलकुद क्षेत्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई स्वास्थ्य, अनुशासन, नेतृत्व विकास तथा सामाजिक एकताको आधारका रूपमा लिएका छौँ, उनले भने । आगामी दिनहरूमा पनि खेलकुद पूर्वाधारको थप विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित योजनावद्ध रूपमा काम गरिने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, वडा १ का वडाध्यक्ष तेज ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र तामाङ घिसिङ, ३ का वडाध्यक्ष देवलाल बल, ७ का वडाध्यक्ष उदास कुमार भोलन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९का वडाध्यक्ष भुवन सिं घलान, कार्यपालिका सदस्य गोरीमाया भुलुन, गाउँपालिकाका वरिष्ट लेखा अधिकृत टीकाराम अधिकारी, भलिबलका राष्ट्रिय रेफ्री विनोद श्रेष्ठ, भवानी माविका प्रअ बालचन्द्र मल्ललगायतको अतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *