हेटौंडा, मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविरको उद्धघाटन भएको छ। बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा बि।पि। चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरको शुक्रबार एक कार्यक्रमका बीच उद्धघाटन भएको हो।
निको अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा भएको शिविरको नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् संविधानसभा सदस्य महालक्ष्मी उपाध्याय डीनाले उद्घाटन गरेकी हुन् । प्रमुख अतिथि उपाध्यायले पछिल्लो समय नसर्ने रोगको खतरा बढ्दो क्रममा रहेको उल्लेख गर्दै समय समयमा स्वास्थ्य जाँच गर्न सर्वसाधारणलाई अनुरोध गरिन् । ‘सरकारले पनि धेरै रोगको निशुल्क उपचार गर्ने गरेको छ । केही रोग लागेमा उपचार खर्च समेत दिने गरेको छ । राज्यले दिने सेवा सुविधाको विषयमा धेरैलाई थाहा छैन, यस्ता विषयमा जनचेतना समेत फैलाउन जरुरी छ’, उपाध्यायले भनिन् ।
उनले लिभर, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै गएकोले राज्यको हरेक तहले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार भैरहँदा मकवानपुरको बकैया र बागमती गाउँपालिकाले गरेको सहयोगप्रति आभारी रहेको उनको भनाई थियो । गाउँका जनताको सुखदुःखमा सदैव रहने उपाध्यायको प्रतिवद्धता रहेको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलिया, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य लोकनाथ गौतम, बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कोषाध्यक्ष ध्रुवबहादुर पाण्डे, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले रोग नलुकाउन र आफूलाई परेको समस्याको विषयमा चिकित्सकहरुलाई जानकारी गराउन अनुरोध गरे ।
स्वास्थ्य शिविरका लागि करिब ८ लाख रुपैयाँ बराबरको औषधि समेत व्यवस्थापन गरिएको छ । शिविर शनिबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाले समेत प्राविधिक सहयोग गरेको थियो । शिविरमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गर्नुका साथै औषधि समेत वितरण गरिरहेका छन् । शिविरको उद्घाटनमा बकैया गाउँपालिका निवर्तमान अध्यक्ष दामोदर खनाल, कांग्रेस नेता आनन्दराम पराजुली, नेकपा एमाले अध्यक्ष गोपाल दाहालसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।






