उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत काम बाँकी: मन्त्री श्रेष्ठ

हेटौँडा, बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले उद्यमशीलता प्रवद्र्धनका लागि अझै नीतिगत काम बाँकी रहेको बताएकी छन्। हेटौँडा स्कूल अफ म्यानेजमेन्टद्वारा बुधबार आयोजित उद्यमी पाठशालाः कोहोर्ट–५ को अभिमुखीकरण तथा नीतिगत संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले केही ऐन बनिसकेको भए पनि तिनको कार्यविधि निर्माण हुन बाँकी रहेको उल्लेख गरिन्।

ADVERTISEMENT

उनले भनिन्, ‘आगामी दिनमा उद्यमी नीति कस्तो बन्नुपर्छ भन्ने विषयमा यहाँबाट प्राप्त सुझावका आधारमा मन्त्रालयले नीति निर्माण गर्नेछ।’ मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मात्र उद्यमशीलता प्रवद्र्धन गर्न नसक्ने भन्दै उद्योग वाणिज्य महासंघ, निजी क्षेत्र तथा सरोकारवालासँग सहकार्य आवश्यक रहेको बताइन्। आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा नव–युवालाई लक्षित नवप्रवद्र्धन तथा उद्यमशीलता विकासका कार्यक्रम समावेश गर्ने तयारी रहेको उल्लेख गर्दै उनले आजको कार्यक्रममा आएका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा मन्त्री श्रेष्ठले हेटौँडा स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गरेकोमा प्रशंसा गर्दै बिउ पुँजी उपलब्ध गराएर व्यवहारिक रूपमा उद्यमशीलता विकासमा योगदान दिएको उल्लेख गरिन्। उनले उद्योग मन्त्रालयसँग क्याम्पसले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेलले स्टार्टअप उद्यमका लागि बजेटमा समावेश योजना तथा नीति नियमको बारेमा प्रस्तुती दिएका थिए।

कार्यक्रममा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले देशको अर्थनीति बलियो बनाउन निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीलाई उद्यमशील बनाउन नीति मात्र होइन, पुँजी पनि आवश्यक रहेकोमा जोड दिए । क्याम्पसबाट बिउ पुँजी लिएर उद्यमी बनेका सक्षम ज्ञवालीले नगद ७५ हजार रुपैयाँ इनोभेसन हबका प्रमुख अनुराग अधिकारीलाई रकम फिर्ता गरेका छन्। ज्ञवालीले द एड मेकर व्यवसाय सञ्चालन गरेका छन्।

कार्यक्रममा उद्यमी पाठशालाको समयरेखा, यात्रा, आवेदक र उद्देश्यबारे नवप्रवर्तन केन्द्रकी संयोजक इशा सिल्वालले प्रस्तुती दिइन्। कार्यक्रममा बागमती प्रदेशको स्टार्टअप नीति कार्यान्वयन स् अवस्था, अवसर र चुनौती विषयमा प्यानल छलफल पनि भएको थियो। प्यानलमा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेल र बोस्टन कलेजकी बीआइसि स्टार्टअप प्रबिना शाह सहभागी थिइन्। हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, म्यानेजमेन्टका सहायक प्रिन्सिपल राम पण्डित खनाललगायतको आतिथ्य रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *