हेटौंडा, शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई पेन्टागन एकेडेमीले शनिबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका गौतमले प्रावि तहमा ६४ जना दरबन्दी आवश्यक रहेकोमा आयोगले लिइएको परीक्षामा सफल भएका ३८ जनालाई आइतबार स्थायी नियुक्ती पत्र वितरण गर्न लागेको बताएका छन् । मकवानपुरले चाहेको दरबन्दी अनुसार नतिजा प्रकाशन नगरेको भन्दै उनले खोजेको र रोजेको जनशक्ति सामान्य गरिदिन शिक्षक सेवा आयोगसमक्ष आग्रह गरे । ‘शिक्षक भनेको ‘थिङ ट्याङकर’ हो ।’ उनले भने –‘विद्यार्थी सिकाउने र विकाउने अहिलेको मुख्य चुनौती रहेको छ । शिक्षक पेशाको स्थायी नियुक्ती सँगै थप जिम्मेवारी पनि बढेको छ ।’
हेटौंडा ४ मा रहेको पेन्टागन एकेडेमीबाट प्रशिक्षण लिई २०७९/८० को शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई सम्मान गरेको थियो । दुई वर्षको अवधिमा १२१ जना प्रशिक्षार्थीले शिक्षक सेवा आयोगबाट नाम निकाल्न सफल भएको पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईले जानकारी दिए । पेन्टागन एकेडेमीका प्रशिक्षक सुवास खनालले शिक्षण सिकाई सिर्जनात्मक र ‘इनोभेटिक’ तवरले सिकाउनु आवश्यक रहेकोमा जोड दिइएका थिए । यसैगरी कम्प्यूटरका प्रशिक्षक सम्प्रस पौडेलले कक्षा ११ र १२ मा शिक्षा विषय अध्ययनरत विद्यार्थीहरूलाई शिक्षा सेवा आयोगको बारेमा जानकारी गराउन अनुरोध गरे । मकवानपुरका पत्रकार सुरेश श्रेष्ठले शिक्षकको जागिरसँगै चुनौती पनि बढेको औल्याएका थिए ।







