हेटौँडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका ९० जना विद्यार्थी दीक्षित भएका छन् । विद्यालयले मङ्गलबार एक कार्यक्रमका बीच पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको हो । यही चैत २५ गते विद्यालयले पूर्व प्राथमिक तहको नतिजा प्रकाशन गरी मङ्गलबार दिक्षान्त कार्यक्रम आयोजना गरेको पूर्व प्राथमिक तह संयोजक अनिता गौतमले जानकारी दिइन् ।
विद्यार्थीहरूको अन्तर निहित प्रतिभा प्रस्फोटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको गौतमले बताइन् । यूकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुले स्टेज प्रस्तुत गर्नुका साथै नृत्य, गायन, नाटक कला, सन्तुलित भोजनको बारेमा प्रस्तुती दिएका थिए । विद्यालयको पूर्व प्राथमिक तह संयोजक एलिशा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नवोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमन्टका प्राचार्य पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कक्षा यूकेजी तह पास गरेका आमा अभिभावकले नृत्य प्रस्तुत पनि गरेका थिए ।

कार्यक्रममा अभिभावकको तर्फबाट मन्तव्य व्यक्त गर्दै फुन्चु रुम्बाले विद्यार्थीहरुको अन्तर निहित प्रतिभा प्रस्फोटनमा विद्यालयले विशेष भूमिका निर्वाह गरेको बताए । आफ्ना नानीबाबुहरूको शैक्षिक विकासमा नवोदयले कुनै कम्प्रोमाइज नगरेको उनको भनाइ रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डेको पनि आतिथ्य रहेको थियो । विद्यालयले हरेक वर्ष दीक्षान्त कार्यक्रम गर्दै आइरहेको छ ।







