मकवानपुरका ३२ हजार बालबालिकालाई भिटामिन ए खुवाईदै

हेटौंडा, सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि (अल्बेन्डाजोल) एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरिक्षक बासुदेव रिमालले जानकारी दिए ।

मकवानपुरमा भिटामिन ‘ए’ करिब ३२ हजार २ सय ४२ जना बालबालिका र जुकाको औषधि करिब २८ हजार ४ सय ९८ जना बालबालिकालाई खुवाइने तयारी गरिएको उनले जानकारी दिए । भिटामिन ‘ए’ कार्यक्रमका लागि जिल्लामा ४ सय ७१ जना स्वास्थ्य स्वयम्सेविका खटिएका छन् । रिमालका अनुसार स्थानीय तहको मागको आधारमा भिटामीन ए र जुकाको औषधि वितरण गरिसकेको छ । बैशाख ६ गते भिटामिन ए र अलबेन्डाजोल खान छुटेका बालबालिकालाई बैशाख ७ गते पनि खुवाउन सकिने छ ।

बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरु मार्फत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको छ । नेपाल सरकारको नियमित कार्यक्रम अनुसार वर्षमा २ पटक सञ्चालन यस्ता खालका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button