हेटौंडा, बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई पनि प्रयोगमा ल्याएको खुशीयालीमा नेवार र तामाङ समुदायले खुशी व्यक्त गरेका छन् ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन लागू भएको अवसरमा नेवाः देय दवु बागमती प्रदेश, नेपाल तामाङ घेदुङ प्रदेश समिति र नेवाः देय दबु स्वनिगः विशेष प्रदेश समितिले संयुक्त रुपमा प्रदेश राजधानी हेटौंडामा नेवाः तामाङ भाषा दिवस मनाएका हुन् ।हेटौंडाको बुद्धचोकबाट सुरु भएको र्याली सिमाचोक, स्कुलरोड, पारिजात पथ, कान्तिराज पथ, मानसचोक हुँदै हेटौंडा–२ स्थित वनस्खण्डीसम्म पुगेर कोषसभामा परिणत भएको थियो ।
सो क्रममा झाँक्री, नेवारी बाजा टोली र जातिगत संघ, संगठनका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम नेवाः देय दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णु गोपाल महर्जनको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमको अवसरमा सभाध्यक्ष महर्जन र प्रमुख अतिथि घलानले नेवाः साँस्कृतिक संग्रहालयको पनि संयुक्त रुपमा शिलान्यास गरेका थिए ।