बागमती प्रदेशको बजेटको पूर्व तयारीसम्बन्धी हेटौंडामा छलफल

हेटौंडा, नेपाल व्यवस्थापन संघ , बागमती प्रदेश व्यवस्थापन समितिको आयोजनामा हेटौंडामा बागमती प्रदेशको बजेटको पूर्व तयारीसम्बन्धी छलफल हेटौंडामा भएको छ । बागमती प्रदेश व्यवस्थापन समितिका अध्यक्ष सुदर्शनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री थपलियाले आगामी बजेटमा ग्रामिण भेगको ससाना योजनाहरु समावेश गर्नु बाध्यता भएको बताए । यसअघि प्रदेश सरकारले ससाना योजनाहरुमा लगानी गरेको भन्दै आलोचना खेपीरहेको सन्दर्भमा स्पष्ट पार्दै प्रदेशभित्रको एउटा गाउँमा ५ लाखको खानेपानी योजनाले त्यस क्षेत्रमा जनताले सुविधा पाउँछन भने प्रदेशले किन काम नगर्ने भन्दै उनले प्रतिप्रश्न समेत गरेका थिए । मन्त्री थपलियाले युवा पलायन हुने विषयले धेरै अघिदेखि व्यापक चर्चा चल्दै गर्दा आगामी वर्षको बजेटमा युवा पलायन रोक्ने खालका योजनाहरुमा काम गरिने बताउँदै युवाहरुलाई पहिलो स्वरोजगार बनाउने र त्यसपछि ससाना घरेलु उद्योगहरुमा सहभागि गराउने खालका योजनाहरु प्राथमिकतामा राखिने बताए । सीमित रकमबाट प्रदेशका जनताको असिमित योजनाहरु एकै पटक सम्बोधन गर्न नसक्ने भएतापनि अतिआवश्यकका योजनाहरुमा आफ्नो ध्यानाकर्षण हुने उनले बताए ।

कार्यक्रममा उद्योग परिसंघका बागमती प्रदेश उपाध्यक्ष स्वागतराज प्याकुरेलले उद्योगीका समस्या सुनाउदा सुनाउदा दिक्क लागेको बताउँदै औदोगिक क्षेत्रका जमिनहरु ९९ वर्षको लिजमा दिने अवधारणा ल्याउन सुझाव दिए । नेपाली युवाहरुलाई प्रविधि हस्तान्तरण गर्न निकै ढिलाई भईसकेकोले प्लस टु पास गरेका युवाहरुलाई नेपालमा टिकाई राख्ने व्यवस्था मिलाउन आगामी बजेटमा सम्बोधन गर्न उनले आग्रह गरे । यसैगरी विद्युतमा रहेको डिमाण्ड शुल्कको विवाद समाधानको लागि पनि प्रयास हुनुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा बागमती प्रदेश खानेपानी , उर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठ ,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विश्व राज जोशी तथा काठमाडौबाट वरिष्ठ अर्थशास्त्री केशव आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *