हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ क्वीन्टल २२ किलो अवैध लागूऔषध गाँजासहित एउटा मिनीट्रक नियन्त्रणमा लिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–३ बायोखोलामा डाँडाबास–पालुङ पक्की सडकको छेउमा रोकिराखेको मिनी ट्रकबाट उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ना. ६ ख. ३२४३ नम्बरको महिन्द्रा कम्पनीको मिनी ट्रकलाई शंकाको आधारमा चेकिङ गर्दा १४ वटा बोरामा राखिएको गाँजा फेला परेको मकवानपुरका डीएसपी एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
गाँजासहितको मिनीट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको उनले बताए । ‘ईलाका प्रहरी कार्यालय पालुङको टोलीले गस्तीको क्रममा मिनीट्रकलाई शंका लागेर चेक गर्दा गाँजा फेला परेको हो’, डीएसपी कार्कीले भने, ‘ट्रकको पछाडी तर्फको सामान लोड गर्ने भागमा सेतो रङको १४ वटा बोराभित्र २८ प्याकेटमा राखिएको गाँजा फेला पारेका हौं ।’ गाँजा कस्ले कहाँ लैजान लागेको र गाडी कस्को हो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो समय मकवानपुरबाट दैनिकजसो लागूऔषध र ओसारपसारमा संलग्नहरु पक्राउ परिरहेका छन् । मकवानपुरको थाहा नगरसहित कैलाश र राक्सिराङ गाउँपालिकाको विभिन्न भूभागमा गाँजा खेती हुने गरेको छ ।






