क्रिकेट प्रतियोगितामा बालजागृति र सोलिड्यारिटीको विजयी शुरुवात

हेटौंडा, दोस्रो संस्करणको निरज स्मृति विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता मंगलबारबाट हेटौंडामा शुरु भएको छ । मंगलबारबाट शुरु भएको प्रतियोगितामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विजयी भएको छ । मंगलबार भएको उद्घाटन खेलमा जेनिथ इन्टरनेशनल विद्यालयलाई पराजित गर्दै बालजागृति ८ विकेटले विजयी भएको हो।

ADVERTISEMENT

पहिलो ब्याटिङ गर्न मैदान उत्रेको जेनिथले ११ दशमलव २ ओभरमा पुरै विकेटको नोक्सानीमा ४९ रनमै सिमित बन्यो । जेनिथका सजन मोक्तानले १४ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । जेनिथलाई सस्तैमा समेट्नको लागि बालजागृतिका अरुण पुरीले २ दशमलव २ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट हात पार्न सफल भए । त्यसैगरी बालजागृतिका प्रशिद्ध तिमल्सिना र सफल दहालले समान २ विकेट, सुरज शाह र प्रनभ बरालले समान १ विकेट लिए ।
झिने रनको लक्ष्य पाएको बालजागृतिले ५ दशमलव २ ओभरमा २ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । बालजागृतिको तर्फबाट प्रज्ञान सुवेदीले १६ रन, रोशन बानियाँले १७ रन बनाएका थिए । जेनिथको तर्फबाट आभास थापाले २ विकेट लिएका थिए । बालजागृतिको तर्फबाट ३ विकेट लिएका अरुण पुरी म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी मङ्गलबार भएको दोस्रो खेलमा मकवानपुरगढीको भानु माध्यमिक विद्यालयलाई पराजित गर्दै सोलिड्यारिटी विद्यालय ८ विकेटले विजयी भएको छ । शुरुमा ब्याटिङ गर्न मैदान उत्रेको भानु विद्यालय १३ दशमलव ५ ओभरमा अल आउट हुँदै ५८ रन रन बनायो । भानुका निश्चल चौलागाईले २३ रन बाहेक अरु खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । भानुलाई सस्तैमा समेट्नको लागि सोलिड्यारिटीका सचिन यादवले ३ विकेट, सुरज यादव, रुपेश पटेल, सत्यम यादवले समान २ विकेट लिए भने आदर्श यादवले १ विकेट लिए ।

ADVERTISEMENT

जवाफी ब्याटिङमा उत्रेको सोलिड्यारिटीले ५ दशमलव २ ओभरमा २ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । सोलिड्यारिटीको पंकज राज पटेलले नट आउट हुँदै २७ रन, सत्यम यादवले १४ रन बनाएका थिए । भानुका भानु लामा र दुलभ कुमारले समान १ विकेट लिए । प्रतियोगितामा सोलिड्यारिटीका सत्यम यादव म्यान अफ द म्याच घोषित भए । मकवानपुर क्रिकेट संघका अध्यक्ष करन महत्रा क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर क्रिकेट संघका निवर्तमान अध्यक्ष बाशुलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो।

प्रतियोगितामा मकवानपुरका सामूदायिक तथा संस्थागत गरी १३ वटा विद्यालयले सहभागिता जनाएका छन् । बुधबार भुटनदेवी माध्यमिक विद्यालय विरुद्ध हेटौंडा एकेडेमी, जिएस निकेतन विरुद्ध कमाने एकेडेमी र बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय विरुद्ध सिद्धार्थ शिशु सदन विद्यालयबीच खेल हुने प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिए । प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद ४० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि ५ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *