हेटौंडा, हेटौँडा १६ मा रहेको जनप्रिय माध्यमिक (प्राविधिक शिक्षालय) ले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शनिबार ४९औँ स्थापना दिवसको अवसरमा विद्यालयले सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका शिक्षक, समितिका सदस्यहरू र स्थानीय व्यक्तिहरूगरी २४ जनाले रक्तदान गरेका अतिरिक्त तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले रक्तदान गर्दै विद्यालयको सामाजिक उत्तरदायित्व बहनका लागि समेत यस्ता कार्य गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा समाजसेवी हर्क रम्तेलले आफूले बिसौँ पटक रक्तदान गरेको बताए । शुक्रबार १ सय मिटर दौड, ४ सय मिटर रिले, म्याराथन, लङ्ग जम्प, हाइ जम्पजस्ता खेलकुदका विविध प्रतिष्पर्धाका साथै कविता तथा समीक्षा लेखन प्रतियोगिता सम्पन्न गरेको विद्यालयले आइतबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका सामाजिक विकास संयोजक तथा १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रमुख कृष्ण घिमिरे, जिल्ला रेडक्रसका सदस्यद्वय पिताम्बर बास्तोला र कृष्णबहादुर सापकोटा, इकाइका पदाधिकारीहरू, सामाजिक, राजनीतिक, बिब्यस, शिक्षक अभिभावक संघ, सल्लाहकार, शिक्षकलगायतको उपस्थिती रहेको थियो ।
समय समयमा विद्यालयले साहित्य, कला तथा लेखन शील्प मात्रै नभइ कृषिमार्फत् उत्पादनमूलक कार्यक्रमहरूका लागि कार्यशालामा जोड गरिरहेको र सोका लागि साँस्कृतिक, साहित्यिक, सामाजिक सङ्गसंस्था र व्यक्तिहरूसँग सहकार्य गरिरहेको प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिए ।