मनहरीमा तीनवटा पक्की पुल उद्घाटन

हेटौंडा, मनहरी गाउँपालिकामा शनिबार तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिबार बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । पालिकाको बजेटमा बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण भइरहेको पाँच पक्की पुल मध्ये शनिबार तीन वटा पक्की पुलको निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो ।

ADVERTISEMENT

मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल निर्माण सम्पन्न भएको हो । ३ स्पानको च्यापल खोला पुल ९७ दशमलव ९ मिटर लम्बाईको रहेको छ । उक्त पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिएको हो । त्यस्तै २ स्पानको ट्वाङ्ग्रा खोला पनि ६४ दशमलव १५ मिटर लामो रहेको छ । उक्त पुल निर्माण गर्न ६ करोड ४९ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो । 

३ वटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेका हुन् । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो ।

गाउँपालिकाकै बजेटमा सोही सडक खण्डमा अन्य २ वटा पुल भने निर्माणाधीन अवस्थामा रहेका छन् । २०७७ सालमा एकैदिन ठेक्का सम्झौता गरिएको ५ वटा पुल मध्ये ३ वटा पुल निर्माण सकिएको भएता पनि २ वटा पुल निर्माणको काम भने जारी नै छ । हिराचन बानियाँ जेभीसँग ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । त्यस्तै भैरव नारायणम् जेभीसँग ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको पुलको काम करिब ६५ प्रतिशत सकिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । पाँच वटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाबाट करिब साढे ३३ करोड रुपैयाँ खर्च हुनेछ । 

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *