हेटौंडा, पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
यही भाद्र १३ गतेदेखि १५ गतेसम्म थाहा नगरपालिका वडा नम्वर ४ मा रहेको थाहा ब्याडमिन्टन कबर्ड हलमा प्रतियोगिता आयोजना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जेसीजका अध्यक्ष रायमाझीले बताए ।
प्रतियोगिताको लागि नाम दर्ता गर्ने अन्तिम मिति आज रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । हरेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
हरेक वर्ष आयोजना हुने प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजना गरिने भएको छ । स्वर्गीय रणबहादुर निरजका हजुरबुवा हुन् । प्रतियोगिताका लागि फरक सोच र थाहानगर ब्याडमिन्टन संघले समन्वय गर्ने छ ।






