हेटौंडा, ७ असोज/केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी रहेको छ। शुक्रबार भएको खेलबाट महिलाको क्वाटरफाइनल संस्करण पूरा भएको छ भने पुरुषको भने शनिबारको एक खेलबाट तय हुने प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए।

हेटौंडा–४ हुप्रौचारमा जारी प्रतियोगितामा महिलातर्फ वडा नम्वर ५, ११, १९, ९, १५, १७, ६ र १२ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुरुषतर्फ वडा नम्वर १९, ६, ११, १७, ५, १६ र १२ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने शनिबारको एक खेलबाट पुरुषको पनि क्वाटरफाइनल खेलको टुङ्गो लाग्ने छ । शुक्रबार भएको महिला भलिबल प्रतियोगितामा वडा नम्वर ११, ९ र ५ बिजयी भएको छ । वडा नम्वर ११ र २ बीच भएको प्रतियोगितामा वडा नम्वर २ उपस्थित नहुँदा वडा नम्वर ११ ले वाक ओभर पाएको हो । त्यसैगरी शुक्रबार भएको वडा नम्वर ४ र ९ बीचको खेलमा वडा नम्वर ९ बिजयी भएको छ । वडा नम्वर ४ लाई २५–१२, २५–१४ को सोझो सेटले हराउँदै वडा नम्वर ९ बिजयी बन्यो ।
शुक्रबार भएको वडा नम्वर ५ र ११ बीचको तेस्रो खेलमा वडा नम्वर ५ ले सोझो सेटमै विजयी हुन सफल भयो । ५ ले ११ लाई २५–१८ र २५–२१ ले पराजित गरेको हो । यसैगरी १९ र ९ बीचको रोमाञ्चक खेलमा वडा नम्वर ९ बिजयी भयो । पहिलो सेट २५–२० ले जितेको वडा नम्वर ९ ले दोस्रो सेटमा १६–२५ अन्तरले पराजित भयो र अन्तिम सेटमा कम ब्याक हुँदै वडा नम्वर ९ ले १५–१० ले विजयी भयो ।
शुक्रबार भएको पुरुषतर्फको भलिबल प्रतियोगितामा वडा नम्वर १९, १६ र १७ बिजयी भएको छ । वडा नम्वर १९ ले ६ लाई २५–१९, १८–२५ र १५–९ को सेटले पराजित गर्न सफल भयो । त्यसैगरी १६ र ८ बीच भएको प्रतियोगितामा १६ नम्वर वडा बिजयी भएको छ । १६ ले ८ लाई २५–२० र २५–२२ को सोझो सेटले पराजित गर्न सफल भयो । शुक्रबार भएको अन्तिम खेलमा १७ नम्वर वडा विजयी भएको छ । वडा नम्वर ५ लाई १७ ले २५–२२ र २५–१४ को सोझो सेटमै पराजित गरेको हो ।
प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैया“ प्राप्त गर्नेछन् । प्रतियोगितामा महिलातर्फ १० वटा र पुरुषतर्फ १२ टिमले सहभागीता जनाएका छन् ।






