हेटौंडा, हेटौंडाको गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकपको फाइनल आज शनिबार हुँदैछ । नेपालका चर्चित क्लव न्यूरोड टिम एनआरटी र सशस्त्र प्रहरीको एपिएफले फाइनल खेल्दैछ । एनआरटीले धनकुटाको राजारानीलाई सडनडेथमा र एपिएफले बागमती युवा क्लव सर्लाहीसँग सहज जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । फाइनल प्रवेशको क्रममा एनआरटीले सडनडेथमा १७–१६ को जित निकालेको थियो भने एपिएफले बागमतीसँग ४–० को जित निकालेको हो । यो पटक मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ । यी दुई क्लव यो प्रतियोगिताको फाइनलमा पहिलो पटक प्रवेश गरेका हुन् ।
२०६४ सालमा भएको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएकोमा उक्त वर्ष घरेलु टिम मकवानपुर ११ ले उपाधि जितेको थियो । २०७७ र २०७८ मा त्रिभुवन आर्मी फुटबल क्लबले यस प्रतियोगिताको उपाधि जितेको थियो । अघिल्लो वर्ष हिमालयन शेर्पा क्लवलाई १–० गोलले हराउँदै मनाङ मस्र्याङ्दी क्लवले उपाधि जितेको थियो । यस वर्ष साविक विजेता मनाङमस्र्याङ्दी क्लवले प्रतियोगितामा सहभागिता जनाएको छैन भने उपविजेता शेर्पा क्लव एनआरटीसँग हार व्यहोर्दै पहिलो खेलबाटै बाहिरियो । अघिल्लो पटक फाइनल पुगेको टोली शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले नै सम्हालिरहेको एपिएफ फाइनलमा पुगेको छ । एपिएफसँग जीवन सिन्केमानको प्रशिक्षणमा रहेको एनआरटी भिड्दैछ ।
फाइनलको अघिल्लो दिन शुक्रबार बिहान हेटौंडामा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने दावी गरेका छन् । एनआरटीका प्रशिक्षक सिन्केमानले छोटो समयको तयारीमा पनि खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेकोले जित्ने विश्वास व्यक्त गरे । उनले निर्धारित समयमै गोल गर्न आफ्नो टिमले फिनिसिङमा सुधार गरेको बताए । एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले उच्च मनोबलका साथ मैदानमा उत्रिने र उपाधि जित्ने लक्ष्य रहेको बताए । उनले प्रतिद्वन्द्वीलाई आफूहरुले कमजोर नसोची सोही अनुसारको तयारी गरेको बताए । एपिएफका कप्तान मणि लामा र एनआरटीका कप्तान अशोक थापाले पनि हालसम्मको प्रदर्शन राम्रो रहेको र फाइनलको लागि थप मेहनत गरिएकोले उपाधि जित्ने दावी गरे । एनआरटीले करिब दुई हप्ताअघि इलाम गोल्डकपको उपाधि समेत जितेको थियो ।
आज दिउँसो २ बजेबाट हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा उपमहानगरपालिकासहित जिल्लाको स्थानीय तह र अन्य विभिन्न संघसंस्थाको सहयोगमा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुँदै आएको हो । माघ १६ गतेबाट सञ्चालन भएको छैठौं संस्करणको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।







