हेटौंडा, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही भदौ १४ गतेबाट आउँदो शुक्रबारबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुँदैछ । करिब ४ वर्षको अन्तरालमा हुन लागेको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेल साविक विजेता न्यू डाँफे क्लव र महाबीर क्लवको बीचमा हुने भएको छ ।

फुटबल संघमा आबद्ध रही अघिल्लो पटक भएको जिल्ला लिगमा सहभागी २८ वटा क्लवलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ७ वटा क्लव रहेका छन् । विभाजन अनुसार समूह ‘क’ मा परेली युवा क्लव बस्तीपुर, विजय यूथ क्लव हेटौंडा, सक्षम युवा क्लव नेवारपानी, हेटौंडा भेट्रान्स, आरआर एफसी मनहरी ३, एफसी ईन्टरनेट र एफसी पोताला रहेका छन् । यस्तै समूह ‘ख’ मा न्यू डाँफे युवा क्लव, महाबीर क्लव, गोरखा ब्वाइज क्लव, एफसी ईन्टरनेट सिटी, पिप्ले युवा क्लव, रियलस्टार क्लव पदमपोखरी र हेटौंडा फुटबल एकेडेमी रहेका छन् ।
समूह ‘ग’ मा एफसी मल्टिभिजन हेटौंडा, पदमपोखरी युवा क्लव, न्यू कम्बाइन क्लव हेटौंडा, ७ नम्बर फुटबल टिम हेटौंडा, हटिया स्पोर्टस् एकेडेमी, एफसी नामटार र सानोपोखरा क्लव रहेका छन् भने समूह ‘घ’ मा सहीद स्मृति क्लव बागमती गाउँपालिका, हाँडीखोला यूथ क्लव मनहरी गाउँपालिका, पशुपति युवा क्लव हेटौंडा, युनाइटेड नाइन क्लव हेटौंडा, एफसी चाइनाक्वाटर, प्रगतिशिल युवा क्लव हेटौंडा १७ र प्रतिभा क्लव हेटौंडा रहेका छन् । जिल्ला लिगको उद्घाटन खेल हेटौंडा ११ मा रहेको सिमलटार खेल मैदानमा हुने जिल्ला लिगका संयोजक युवराज लामाले जानकारी दिए ।
यस वर्षको प्रतियोगिता सिमलटार र गौरिटार रंगशालामा हुनेछ । लिगको विजेताले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउन पाउनुका साथै नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था रहेको छ ।







