हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा यही भाद्र २४ गतेबाट हुन लागेको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन खेल नागस्वती भेट्रान्स हेटौंडा र चितवन भेट्रान्स क्लवबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि हेटौंडा भेट्रान्स क्लव, नागस्वती भेट्रान्स, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगञ्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगञ्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पुर्वेली भेट्रान्स क्लव झापा, एस.एन.के.सी काठमाडौं, फ्रिडम फाइटर काठमाडौं, चितवन भेट्रान्स, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहने पक्कापक्की भएको छ । ४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता ११ ए साइडको हुनेछ ।
भाद्र ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले बताए ।
हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने लक्ष्य रहेको प्रतियोगिता संयोजक मोहन ढकालले जानकारी दिए । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हुन लागेको प्रतियोगितामा पिप्ले युवा क्लव सहआयोजक र रोट¥याक्ट क्लव अफ मकवानपुरको सहकार्य रहनेछ । पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लव चितवनले जितेको थियो ।






