राप्रपाको संसदीय दलको नेतामा थापा चयन

हेटौँडा/राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती प्रदेशको संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् । काठमाडौँ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ (ख) बाट प्रदेश सभा सदस्य थापा काठमाडौँमा सोमबार भएको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

ADVERTISEMENT

राप्रपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले संसदीय दलको प्रमुख सचेतक, सचेतक, सचिवलगायत चयन गर्न बाँकी रहेको जानकारी दिए । बागमती प्रदेश सभामा राप्रपाको प्रत्यक्ष प्रणालीबाट निर्वाचित सातसहित १३ जना प्रदेश सभा सदस्य रहेका छन् । बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भोली बुधबार हेटौँडामा गर्ने निर्णयसहित निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले संसदीय दलको नेता चयनका लागि मङ्गलबारबाट निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । निर्वाचन कार्यक्रमअनुसार मङ्गलबार मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमाथि दाबी विरोध र दाबी विरोधमाथि जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । बुधबार बिहान संसदीय दलको नेताका लागि दरखास्त दिने, उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारको दरखास्तमाथि दाबी विरोध, दाबी विरोधमाथि जाँचबुझ र उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको कांग्रेस प्रदेश समितिका प्रवक्ता रुवालीले बताए ।

यस्तै उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ । संसदीय दलको नेताको निर्वाचनका लागि मतदान बुधबार दिउँसो २ बजेबाट ३ बजेसम्म रहेको र मतदानपछि मतगणना गरी मतपरिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा संसदीय दलको नेतामा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको दाबी रहेको छ । प्रदेश सभामा कांग्रेसको ३७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *