हेटौँडा, मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ३५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको धरौटी जफत भएको हो।

मकवानपुर–१ मा पूर्वसांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह समेत धरौटी जफत हुने गरी पराजित भएका छन्। २०७९ को निर्वाचनमा २७ हजार ८५१ मतसहित विजयी भएका सिंहले यसपटक ४ हजार ५७५ मत मात्रै प्राप्त गरेका थिए।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मकवानपुर–१ मा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका थिए। २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा विजेतासहित पाँच जनाले मात्र धरौटी जोगाएका छन्। यहाँ ९५ हजार ८४३ मत खसेकामा ९० हजार ७२५ मत सदर र ५ हजार ११८ मत बदर भएको थियो। ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन्।
त्यसैगरी मकवानपुर–२ मा पनि १९ जना उम्मेदवारको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा रास्वपा, कांग्रेस, एमाले र नेकपाका उम्मेदवारले मात्र धरौटी जोगाउन सफल भएका थिए। २३ जना उम्मेदवारमध्ये ९ जनाले ५० मतसमेत ल्याउन सकेनन्। यहाँ ८६ हजार ७२४ मत सदर हुँदा ५ हजार ४९७ मत बदर भएको थियो।
दुवै निर्वाचन क्षेत्रमा गरी १ लाख ८६ हजार ९५९ मत खसेकामा १० हजार ६१५ मत बदर भएको मुख्य निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ। सबैभन्दा धेरै मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाएका कारण मत बदर भएको बताइएको छ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रत्यक्षतर्फ मकवानपुर–२ मा ६ दशमलब ३ प्रतिशत र मकवानपुर–१ मा ५ दशमलब ३३ प्रतिशत मत बदर भएको छ। अघिल्लो निर्वाचनको तुलनामा यसपटक प्रत्यक्षतर्फ बदर मतको प्रतिशत बढेको कार्यालयले जनाएको छ।
समानुपातिकतर्फ भने दुवै क्षेत्रमा गरी ७ हजार ४४७ मत अर्थात ३ दशमलब ९६ प्रतिशत मत बदर भएको छ, जुन प्रत्यक्षतर्फको तुलनामा कम हो। यसपटक मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।






