हेटौंडा, बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको छ । प्रदेश सरकारले असोज १ गतेदेखि ४ गतेसम्म गरी चार दिन विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता सुरज चन्द्र लामिछानेले जानकारी दिए ।
संविधान दिवसको अवसरमा सरकारको सामाजिक विकास मन्त्रालयले असोज १ गते “संविधान कार्यान्वयनका नौ वर्षः उपलब्धि र चुनौती” विषयक क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । यस्तै, सो दिवसको अवसरमा असोज १ गते नै प्रदेशको वन तथा वातावरण मन्त्रालयले उपयुक्त स्थान पहिचान गरी वृक्षारोपण कार्यक्रमको आयोजना गर्ने सरकारका प्रवक्ता लामिछानेले बताए ।
यस्तै, असोज २ गते प्रदेशको स्वास्थ्य मन्त्रालयले सार्वजनिक स्थानमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ भने युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले खेलकुद कार्यक्रमको आयोजना गर्ने प्रवक्ता लामिछाने बताए ।
त्यस्तै, असोज ३ गते संविधान दिवसको अवसरमा सम्बन्धित मन्त्रालय, कार्यालयहरुले आफ्नो परिसर सरसफाई गर्नुका साथै हेटौंडा उपमहानगर क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । उक्त कार्यक्रमको हेटौंडा उपमहानगपालिकाले व्यवस्थापन गर्ने प्रवक्ता लामिछानेले बताए ।
यसैगरी, असोज ३ गते नै बिहान ७ः०० बजे हेटौंडाको भुटनदेवी माविको चौरमा भेला भई स्कूलरोड–बुद्धचोक–चौकिटोल–मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म विविधता झल्कने गरी झाँकी र ब्याण्ड बाजासहितको प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकारले असोज २, ३ र ४ गते प्रदेशका मन्त्रालय तथा अन्य कार्यालय र सार्वजनिक स्थानमा दीप प्रज्वलन गर्ने, तीनै दिन सार्वजनिक निकाय र सार्वजनिक स्थलको हकमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम तय गरिएको उनको भनाई छ ।
साथै तीनै दिन सबै मन्त्रालयरनिकायहरुले आ–आफ्नो वेवसाइटको होमपेजमा “संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ भव्य रुपले मनाऔं” सम्बन्धी पपअप आउने व्यवस्था मिलाउने जनाइएको छ ।
संविधान दिवस मनाउनको लागि मुख्यमन्त्री बहादुर सिं लामाको नेतृत्वमा ४३ सदस्यीय ‘संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति २०८१’ गठन गरिएको पनि प्रवक्ता लामिछानेले बताए ।