हेटौँडा, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको फिचर लेखन प्रतियोगितामा राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरकी संवाददाता अञ्जली थापा सर्वोत्कृष्ट घोषित हुनुभएको छ। हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा थापाले लेख्नुभएको ‘गुन्द्रुकमा आत्मनिर्भर हुँदै महिला’ शीर्षकको फिचर सर्वोत्कृष्ट घोषित भएको हो। उक्त उपलब्धिसँगै उहाँले नगद रु। ४५ हजार तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
प्रतियोगितामा कृष्णा विष्ट (सुनिता), रुपक कालिराज, प्रतीक्षा न्यौपाने, मनिता राना, आरती ढकाल, सन्तोष साह शंकर, सुजन ढकाल, बसन्त भण्डारी, नवीन राउत र जमुना थिङ उत्कृष्ट घोषित हुनुभएको छ। उत्कृष्ट हुने सबैलाई जनही १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सचिव केशव सुवेदीले जानकारी दिनुभयो।
त्यसैगरी, गोविन्द न्यौपाने र रोहित थापा सान्त्वना पुरस्कारबाट सम्मानित हुनुभएको छ। उहाँहरूलाई जनही रु। ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा आयोजित फिचर लेखन प्रोत्साहन पुरस्कार वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले पत्रकारिता समाजको मेरुदण्ड भएकाले सञ्चारकर्मीले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक रूपान्तरणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सूचना तथा सञ्चारको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो।
उहाँले प्रदेश राजधानी हेटौँडाका सञ्चारकर्मी सक्षम, सिर्जनशील र अब्बल रहेकाले पत्रकारिताको नेतृत्व गर्ने सामर्थ्य हेटौँडासँग रहेको धारणा व्यक्त गर्नुभयो। पत्रकारको क्षमता अभिवृद्धि, उत्साह र सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले उपमहानगरपालिकाले फिचर लेखन प्रतियोगितालाई आर्थिक सहयोग गरेको उहाँको भनाइ थियो। प्रतियोगितामा कुल १३ जना पत्रकारको सहभागिता रहेको थियो। प्रताप विष्टको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णायक मण्डलमा भानुभक्त आचार्य र सम्झना कार्की सदस्य रहनुभएको थियो।
प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन सहभागीका फिचर लेखकको नाम उल्लेख नगरी कोड नम्बरका आधारमा निर्णायकसमक्ष प्रस्तुत गरिएको महासंघले जनाएको छ। लेखनशैली, शीर्षक, भाषा, प्रस्तुति, मौलिकता तथा तथ्य–तथ्यांकको प्रयोगलाई आधार मानेर मूल्याङ्कन गरिएको निर्णायक समितिका संयोजक विष्टले जानकारी दिनुभयो।
कार्यक्रममा निर्णायक सम्झना कार्की, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, महासंघका पूर्व जिल्ला अध्यक्ष राममणि दाहाल, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्कालगायत सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।






