प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा, मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेश सभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरूप ‘चिउरी’ प्रदान गरेका छन्। यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुंगो (बाँसको टोकरी) मा राखेर चिउरी पठाएका हुन्।

ADVERTISEMENT

आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुंगोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र भरोसा पनि पठाएको उल्लेख गर्दै उक्त उपहारका लागि धन्यवाद दिए। ‘चेपाङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध राख्ने वनउपज चिउरीबाट म उक्त समुदायमा समृद्धि ल्याउने परिकल्पना गरिरहेको छु,’ उनले भने, ‘परम्परागत सिप, जैविक विविधता, आदिवासी तथा सीमान्तकृत समुदायका जीवनशैलीप्रति म सम्मान व्यक्त गर्दै चिउरी प्रवर्द्धनका कार्यक्रम ल्याउनेप्रतिबद्धता व्यक्त गर्दछु।’

प्रधानमन्त्री ओलीले चिउरीको उत्पादन बढाउन र यसैमार्फत समुदायमा आर्थिक गतिविधि बढाउनका लागि कार्यक्रम ल्याउने बताए। उनले वन स्रोतको प्रयोगलाई केवल सालका रुख कटानमा सीमित नगरी दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्ने धारणा भनाइ राखे।

प्रधानमन्त्री ओलीले चेपाङ समुदायको परम्परागत ज्ञान, जीवनशैली र चिउरीसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस्तो बहुआयामिक वन उत्पादको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण तथा आदिवासी जनजातिको भूमिकालाई राज्यले प्राथमिकतामा राखेकोसमेत उल्लेख गरे।

बागमती प्रदेश सभा सदस्य भारती पाठकले प्रधानमन्त्रीसँग भेट गर्ने क्रममा आदिवासी जनजातिको परम्परागत सिप, ज्ञान र जैविक विविधतालाई कायम राख्दै वनमा आधारित उद्यम विकास गर्नुपर्नेमा जोड दिइन्। सामुदायिक वन उपभोक्ता महासंघकी अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेकी पाठकले मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जोड्ने उपयुक्त स्रोत चिउरी हुन सक्ने बताइन्।

Advertisement 5

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरूले जनप्रतिनिधिमार्फत उपहार पठाएको बताए। उनले भने, ‘प्रधानमन्त्रीका लागि पठाइएको चिउरी चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको छ, उनले खुसीका साथ ग्रहण गरिदिनुभएकाले हामी हर्षित छौँ।’

चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ। वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी चेपाङ समुदायले चिउरीको रुखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *