हेटौंडा, हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार भएको खेलमा हरिवन भेट्रान्स सर्लाही र निजगढ भेट्रान्सले विजयी भएको छ ।
मङ्गलबार भएको पहिलो खेलमा घरेलु टिम हेटौंडा भेट्रान्सलाई ४–० को गोल अन्तरले पराजित गर्दै हरिवन भेट्रान्सले विजयी शुरुवात गरेको हो । यसैगरी आज भएको दोस्रो खेलमा आयोजक रोटरी पिप्ले भेट्रान्सलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गर्दै निजगढ भेट्रान्सले विजयी शुरुवात गरेको छ । निर्धारित समय गोलरहित भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । प्रतियोगितामा निजगढ भेट्रान्सका गोल किपर विकास लामा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत भाद्र २६ गते बुधबार दिउँसो २ बजे युनिटी भेट्रान्स विरगज र फ्रिडम फाईटर भेट्रान्स काठमाडौँबीच खेल हुनेछ भने दिउँसो ३ः३० बजे अभिषेक चर्च भेट्रान्स नवलपुर र सिमरा भेट्रान्स बाराबीच हुने आयोजकले जनाएको छ । १५ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैँयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।