प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवले गरे पदभार ग्रहण

हेटौंडा, बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव दिपक लामाले बिहीबार पदभार ग्रहण गरेका छन् ।

लामाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, गौरीटार रंगशालास्थित परिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
सो क्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले लामालाई कार्यकाल सफलताको शुभकामना दिए । मन्त्री महर्जनले परिषद्बाट हुने खेलकुदसँग सम्बन्धित सम्पूर्ण गतिविधिलाई तीब्रताका साथ अघि बढाउन सदस्य सचिव लामालाई आग्रह गरे ।

पदभार ग्रहण गरेसँगै सदस्य सचिव लामाले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गर्नका लागि अपुग करिब ९ करोड रुपैयाँ मन्त्रालयसँग माग गर्ने पहिलो निर्णय गरेका छन् ।

परिषदमा प्रतियोगिताको लागि आवश्यक तयारी गर्न ३ करोड ५७ लाख रुपैयाँ रहेको र करिब ९ करोड रुपैयाँ अपुग भएकाले मन्त्रालयसँग माग गरिएको परिषद्का कार्यालय प्रमुख बद्री पाठकले बताए ।

बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले लामालाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले नुवाकोटको बेलकोटगढी नगरपालिका ७ निवासी उनलाई प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा ३ को उपदफा २ को खण्ड ञ अन्तरगत ५ वर्षे कार्यकालको लागि नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button