हेटौंडामा एमालेको विरोध प्रदर्शन

हेटौँडा, नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमालेका नेता तथा कार्यकर्ताले हेटौंडामा पनि विरोध प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा उनीहरूले हेटौंडामा विरोध प्रदर्शन गरेका हुन् ।

ADVERTISEMENT

शनिबार दिउँसो पार्टीका विभिन्न जनसंगठनको अगुवाइमा हेटौंडा बजारमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । एमाले र कांग्रेसका नेता कार्यकर्ताहरुले संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । एमालेले आफ्ना अध्यक्षको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ । बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

ओली र लेखकलाई पक्राउ गरेपछि एमाले मकवानपुरका कार्यबाहक अध्यक्ष हिदम लामाले प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति निन्दा एवम् भर्सना गरेका थिए । जेनजीको नाममा गरिएको आन्दोलनको घटनाको छानविनका लागि गठित विवादित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रह ढंगबाट गरिएको गिरफ्तारीले मुलुकलाई अन्त्यहीन द्वन्दमा फसाउन सरकार आफैँ लागिपरेको एमाले मकवानपुरको भनाई थियो । गैरकानुनी रूपमा पूर्जी जारी गरी पक्राउ गर्नुले नेपालको कानुनी राज्यको उपहास भएको एमाले मकवानपुरको ठहर छ । गैरसंवैधानिक, गैरराजनीतिक र प्रतिशोधपूर्ण रूपमा पक्राउ परेका पार्टीका अध्यक्ष ओेली तथा नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री लेखकलाई अविलम्ब रिहाई गर्न समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *