हेटौंडा, मकवानपुरे सञ्चारकर्मी सन्देश थिङ्ले जन्मदिनको अवसर पारेर ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । थिङ्ले शुक्रबार मनहरी गाउँपालिका २ भुन्द्रुङ्गटाँडीस्थित श्री सीता माद्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।
२८ औं जन्मदिनको अवसरमा विद्यालयमा १ देखि ५ कक्षासम्म अध्ययनरत करिब २ सय विद्यार्थीहरुलाई कापी कलम तथा खेलकुदका सामग्री हस्तान्तरण गरेका हुन् ।विद्यालयमा मनहरीको भीमानदेखि करिब ३ घण्टा हिँडेर बालबालिकाहरु पढ्नका लागि आउने गरेका छन् । ‘मैले आफैँले कक्षा ८ सम्म अध्ययन गरेको विद्यालय हो, आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सानो सहयोग गरेको हुँ ।’ थिङ्ले भने ।
विद्यालयका शिक्षक बुद्ध बुढाथोकीले शुभकामना तथा आभार व्यक्त गर्दै जन्मदिनमा सामाजिक कार्यमा जोड दिने थिङ्बाट अहिलेका युवाहरुले पाठ सिक्नुपर्ने बताए ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक दूधलाल घलान, मनहरी गाउँपालिका २ का वडा अध्यक्ष राजकुमार पाख्रिनलगायत राजनीतिक एवम् सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।







