हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । शुक्रबारको खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । प्रतियोगिताको फाइनल प्रवेशको लागि मकवानपुरगढी गाउँपालिकाले नारायणी कलेजसँग र भीमफेदी गाउँपालिकाले हेटौंडा १९ सँग प्रतिस्पर्धा गर्ने छ ।

आज भएको राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबीचको क्वाटरफाइनल खेलमा मकवानपुरगढी गाउँपालिका विजयी भएको छ । राक्सिराङलाई २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्दै मकवानपुरगढी सेमिफाइनल प्रवेश गरेको हो । यसैगरी आज भएको दोस्रो क्वाटरफाइनल खेलमा नारायणी कलेज विजयी भएको छ । बकैयाँ गाउँपालिकालाई २५–१० र २५–८ को सोझो सेटले पाखा लगाउँदै नारायणी कलेज सेमिफाइनल प्रवेश गरेको हो ।
आज भएको तेस्रो खेलमा भीमफेदी गाउँपालिका विजयी भएको छ । थाहा नगरपालिकालाई २५–२३, २२–२५ र १५–८ को सेटमा पराजित गर्दै भीमफेदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा हेटौंडा १९ विजयी भएको छ । छहारी युवा सेवा समाजलाई २५–२३ र २५–२३ को सोझो सेटले पराजित गर्दै हेटौंडा १९ सेमिफाइनल प्रवेश गरेको हो ।
प्रतियोगितामा म्यान अफ द डे भीमफेदी गाउँपालिकाका खेलाडी रन्जन अमात्य घोषित भए । हेटौंडा १० स्थित नारायणी कलेजले प्रायोजन गरेको उक्त पुरस्कार कलेजका प्रिन्सिपल रघुनाथ खरालले प्रदान गरेका थिए ।केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । प्रतियोगितामा उत्कृष्ट सेटर, स्पाईकर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।






