हेटौंडा, पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर, १५ रातोमाटेबाट प्रहरीले आज (मंगलबार) अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले तीन सय ९२ किलो लागूऔषध गाँजासहित मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने वर्ष २६ का रोशन पुरी र सोही स्थानका वर्ष २२ का धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहान सवा ३ बजेको समयमा पालुङबाट बिरगंजतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई रोकी चेकजाँच गरिएको थियो ।सो क्रममा उक्त ट्याङकरको पाँच वटा डिब्बाहरुमध्ये ३ नम्बको डिब्बाभित्र २५ वटा पोका बनाई रातो प्लाष्टिकले बेरेको अवस्थामा सो परिणामको गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये रोशन पुरी ट्याङकर चालक र धनबहादुर मल्ल ट्याङकरका सह–चालक रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।






