हेटौँडा, दशैंको अवसरमा मनहरी गाउँपालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई खसी, खाद्यान्न तथा प्रशासनिक सामग्री सहयोग गरेको छ। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई सामग्री हस्तान्तरण गरिएको हो।
गाउँपालिकाले कारागारलाई २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा, अढाई कार्टुन तेल र एउटा प्रिन्टर प्रदान गरेको हो।
अध्यक्ष कालाखेतीले हरेक वर्ष चाडपर्वका अवसरमा कैदीबन्दीलाई सहयोग गर्ने परम्परा कायम गर्दै आएको बताए। उनले भने, ‘चाडपर्वमा कैदीबन्दीहरूले पनि उत्सवको माहोल अनुभव गर्न पाउनुपर्छ भन्ने सोचले गाउँपालिकाले यस्तो पहल गर्दै आएको हो।’
खाद्यान्न वितरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष शिवप्रसाद खनाल, वडा नं. २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नं. ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा नं. ६ का अध्यक्ष यादव थपलिया र वडा नं. ७ का अध्यक्ष ठाकुर तितुङको पनि उपस्थिति थियो।
कार्यक्रमका क्रममा जनप्रतिनिधिहरूले गाउँपालिकाका स्थायीवासी करिब ६० जना कैदीबन्दीसँग भेटघाट गर्दै दशैंको शुभकामना आदानप्रदान गरेका थिए।