हेटौंडा, मनहरी गाउँपालिकाले कृषकको दूधको भुक्तानीको सुनिश्चिततासँगै सहकारी मार्फत दूध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाएको छ । आफूले बिक्री गरेको दूधको रकम समयमै नपाएर समस्या झेल्दै आएका किसानको उत्पादनको बजार सुनिश्चितता पालिकाले गरेसँगै अब समयमै भुक्तानी पाउने भएका हुन् । हेटौंडा–१९, नेवारपानीमा रहेको हेटौंडा डेरी इण्डष्ट्रिज र दुग्ध उत्पादक सहकारीसँग सम्झौता गर्दै कात्तिक १ गतेबाट लागू हुने गरी किसानलाई महिनाको दुईपटक भुक्तानी दिने व्यवस्थाको सुरुवात गरेको हो ।
अब दूधको भुक्तानीका लागि किसानले ४/५ महिना कुर्नुपर्ने अवस्थाको अन्त्य भएको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती बताउँछन् । ‘भुक्तानीका लागि अब ५/६ महिना कुर्नुपर्दैन । दूध संकलन गर्ने सहकारीसँग विभिन्न चरणको छलफल गरेर यहाँसम्म आइपुगेका हौं ।’– उनले भने । किसानको प्रमुख समस्याको रुपमा रहेको दुधको भुक्तानी दीर्घकालिन अन्त्यका लागि गाउँपालिकाले नै भुक्तानी सुनिश्चिताको जिम्मा लिएको बताइएको छ । जसका कारण महिनौंसम्म दूधको भुक्तानी नपाएर पशुपालन पेशाबाटै पलायन हुनपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष कालाखेती बताउँछन् ।
किसानले उत्पादन गरेको दूध साना किसान कृषि सहकारीमा संकलन गर्ने र त्यहाँबाट हेटौंडा डेरी इन्डस्ट्रीजले लगेर बजारीकरण गर्ने बताइएको छ । जसमा डेरी इन्डस्ट्रीजले गाउँपालिकालाई मासिक भुक्तानी दिनेछ भने पालिकाले किसानहरुलाई १५/१५ दिनमा भुक्तानी दिने सहमती भएको हेटौंडा डेरी इन्डस्ट्रीज प्रालिका प्रशासन प्रवन्धक प्रदीप पौडेलले बताए ।
हाल मनहरी गाउँपालिकामा ६ वटा सहकारीमार्फत दैनिक ७ हजार लिटर भन्दा बढी दूध संकलन भईरहेको छ । संकलित दूध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत बिभिन्न उद्योगहरुमा बिक्री वितरण भईरहेको छ ।






