हेटौंडा, १० असोज/केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भएको चौथो
संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको खेल पनि हेटौंडा १७ नम्बर वडाले नै जितेको छ ।

सोमबार बिहान भएको फाइनल खेलमा हेटौंडा १९ लाई हराउँदै १७ ले उपाधि जितेको हो । यसअघि महिला भलिबलको उपाधि पनि १७ नम्बर वडाले नै जितेको थियो । १७ ले १९ लाई २५–२१, १६–२५, २५–२१ र २८–२६ को सेटमा हराएको हो । आइतबार साँझ भएको फाइनल खेलको क्रममा रात परेपछि सोमबार बिहान खेलाइएको थियो ।
विजेता १७ नम्बर वडाले उपाधिसंगै नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने १९ नम्बर वडाले २५ हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । आइतबार भएको फाइनलमा महिला तर्फ हेटौंडा १७ ले ५ नम्बर वडालाई हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा महिलातर्फ १० वटा र पुरुषतर्फ १२ वटा वडाले सहभागिता जनाएको थियो ।
विजेताहरुलाई सोमबारबाट सुरु भएको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुरस्कार वितरण गरिनेछ ।







