प्रदेशमै आएन विपत्बाट भएको क्षतिको विवरण

हेटौँडा, गत असोजको दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोबाट धेरै क्षति भएको बागमती प्रदेशका विभिन्न जिल्लामा विपत्बाट भएको धनजनको क्षतिको विवरण अझै बागमती प्रदेश सरकारसमक्ष पुग्न सकेको छैन । बाढीपहिरो गएर क्षति भएको एक महिनाभन्दा बढी भइसक्दा पनि प्रदेशमा विपत् हेर्ने जिम्मेवारी पाएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाहरूबाट क्षतिको विवरण उपलब्ध नभएको हो ।

ADVERTISEMENT

प्रदेशका १३ जिल्लामध्ये दुई वटा जिल्लाबाट मात्र बाढीपहिरो भएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी वविता कार्कीले दोलखा र धादिङ जिल्लाबाट मात्र क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो । उहाँले विवरणका लागि जिल्ला प्रशासन कार्यालयलाई ताकिता गर्दासमेत सीमित जिल्लाबाट मात्र विवरण प्राप्त भएको र कतिपय स्थानीय तहले विवरण पठाएको भन्दै क्षतिको विवरण सिधै गृह मन्त्रालयलगायतका निकायमा उपलब्ध गराएर यहाँ नपठाउँदा विपत्पछिको कार्यसम्पादनमा समस्या भएको बताउनुभयो ।

उहाँले क्षतिको विवरण उपलब्ध नभएपछि विपत्सम्बन्धी पोर्टलबाट समेत तान्ने काम भएको बताउँदै पुनः जिल्लाहरूलाई पत्राचार गरी उपलब्ध गराउन ताकिता गरिने र उपलब्ध भएपछि विवरण एकीकृत गरी विपत्पछिको पुनर्निर्माणका कामलाई अगाडि बढाउन सहज हुने बताउनुभयो । प्रदेश सरकारले बाढीपहिरोपछि उद्धार, खोजी, राहतलगायतका कार्यका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई सहयोग रकम निकासा गरेको छ ।

यस्तै प्रदेशका १३ वटै जिल्ला विपत् व्यवस्थापन समितिलाई पाँचरपाँच लाख रुपियाँ बाढीपहिरोपछि उद्धार, खोजीलगायतका कार्यका लागि र नौ वटा जिल्लालाई मृतकका परिवारलाई राहत वितरण गर्ने गरी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ ।

काभ्रेपलाञ्चोक जिल्लालाई ६० लाख, ललितपुर जिल्लालाई ३० लाख, काठमाडौँ र सिन्धुपाल्चोकलाई २०र२० लाख तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लामा १०र१० लाख रुपियाँ जिल्ला विपत् व्यवस्थापन कोषमा निकासा गरी राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement 5

प्रदेश सरकारले विपत् अति प्रभावित ४५ जिल्लालाई बाढीपहिरोबाट भएको क्षति र जोखिमका आधारमा तीन वर्गमा विभाजन गरी राहत उपलब्ध गराउन स्थानीय तहलाई पाँच करोड ८० लाख रुपियाँ निकासा गरेको थियो ।

सात वटा पालिकालाई २० लाखका दरले एक करोड ४० लाख, १२ वटा पालिकालाई १५ लाखका दरले एक करोड ८० लाख र २६ पालिकालाई १० लाखका दरले दुई करोड ६० लाख रुपियाँ राहत रकम उपलब्ध गराइएको थियो ।

थप राहत रकम निकासा

सङ्घीय सरकारले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बागमती प्रदेशका काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरका नौ स्थानीय तहलाई बागमती प्रदेश सरकारले थप राहत रकम प्रदान गरेको छ ।

विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकको रोसीलाई १२ लाख र अन्य स्थानीय तहलाई १०र१० लाख उपलब्ध गराइएको छ । साथै विपत् अति जोखिममा परेका दक्षिणकाली नगरपालिका, महालक्ष्मी नगरपालिका र थाक्रे गाउँपालिकालाई थप १०र१० लाख गरी एक करोड ३२ लाख रुपियाँ स्थानीय तह विपत् व्यवस्थापन कोषमा निकासा गरिएको मन्त्रालयका सूचना अधिकारी कार्कीले बताउनुभयो ।

उता गत असोजको दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मकवानपुर जिल्लामा १० जनाको मृत्यु र एक अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहहरूबाट हालसम्म जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराइएको प्रारम्भिक विवरण अनुसार गत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट कृषिबाली, पशुपन्छी, निजी आवास र सार्वजनिक भौतिक संरचना गरी एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।

मकवानपुरमा बाढीपहिरोबाट सबैभन्दा बढी क्षति पु¥याएको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकालाई विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरिएको छ । (स्रोतः गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *