हेटौँडा, मकवानपुर जिल्लाको हेटौँडामा गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिका–१७ का कृषक टिकादेवी ढकाल र वडा नं. १८ का कृषक रामप्रसाद पौडेलले पालेका गाईहरूको नमुना परीक्षण गर्दा रोग पोजेटिभ देखिएको हो। शङ्कास्पद नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर, काठमाडौँ पठाइएको थियो। त्यहाँ गरिएको रियल टाइम पिसिआर परीक्षणबाट लम्पी स्किन रोग पुष्टि भएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. बज्र किशोर ठाकुरले जानकारी दिनुभयो।
डा. ठाकुरका अनुसार खुला सिमाना र नयाँ पशु खरिदबिक्रीका कारण यो रोग भित्रिएको हो। रोग नियन्त्रणका लागि मकवानपुरमा हाल जनचेतनामूलक कार्यक्रम, खोप अभियान र बायो सेक्युरिटी उपायहरू अपनाइएका छन्। मकवानपुरमा जेठको पहिलो सातादेखि खोप अभियान सुरु गरिएको छ। हेटौँडाको वडा नं. १६, १७ र १८ मा ५,००० डोज, बकैया गाउँपालिकामा १०,००० डोज र मनहरी गाउँपालिकामा ४,००० डोज खोप लगाउने योजना बनाइएको छ। अहिले ७० जना भ्याक्सिनेटर परिचालन भई अभियान सञ्चालन भइरहेको छ, र यो अभियानअन्तर्गत जम्मा ३०,००० डोज खोप लगाउने लक्ष्य राखिएको छ।
गत वर्ष मकवानपुरगढी गाउँपालिकाबाट लम्पी स्किन रोग फैलिएको थियो। त्यसबेला लाखौँ रुपैयाँको क्षति हुनुका साथै १५ वटा गाईभैँसी मरेका थिए। लम्पी स्किन सङ्क्रामक विषाणुजन्य रोग हो, जसले गाईभैँसीमा अत्यधिक ज्वरो, शरीर सुस्त हुनु, खाना नखानु, दूध उत्पादन घट्नु, छालामा गाँठाहरू (गिर्खा) आउनु र ती फुटेर अल्सर बन्ने समस्या ल्याउँछ। आँखाबाट कचेरा आउनु, नाकबाट सिँगान बग्नु र जीवाणु सङ्क्रमण भई निमोनिया वा थुनेलो हुन सक्ने खतरा रहन्छ।
डा. ठाकुरले समयमै खोप लगाएर र सतर्कता अपनाएर रोग फैलिनबाट जोगिन सकिने बताएका छन्।






