हेटौंडा, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले मनहरी गाउँपालिकाको ४ नम्बर वडास्थित मसिनेको गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न सहयोग गर्ने उद्घोष गरेका छन् ।
चैनपुर जेसीज मनहरीको आयोजनामा शुक्रबारबाट सोही चौरमा सुरु भएको दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । आफू मन्त्री हुँदा बजेट बनिसकेको जानकारी गराउँदै उनले अबको बजेटमा यो मैदानको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । ‘यही क्षेत्रबाट निर्वाचित माननीय ईन्द्रबहादुर बानियाँ र मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पनि मलाई यो चौरको विषयमा जानकारी गराइसक्नुभएको थियो’, मन्त्री महर्जनले भने, ‘यसलाई व्यवस्थित खेल मैदानसहितको मिनी रंगशाला बनाउन पहलसहित बजेट विनियोजन गर्नेछु ।’ बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको उल्लेख गर्दै उनले आफू पनि खेलेरै यो अवस्थासम्म आएको मन्त्री भएको जानकारी समेत गराए ।
यस्तै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले साविक मनहरी क्षेत्रमा रंगशाला निर्माण भैरहेपनि हाँडीखोला क्षेत्रमा व्यवस्थित खेल मैदान नभएकोले गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्नु आवश्यक रहेको औंल्याउँदै प्रदेश सरकारको सहयोगको अपेक्षा गरे । पालिकाले खेल क्षेत्रमा सक्दो लगानी गर्दै आएको भन्दै उनले आगामी दिनमा समेत योजनाबद्ध काम गर्ने धारणा राखे । मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले गोलघर चौरको विषयमा जानकारी गराउँदै ज्ञापनपत्रसहित मन्त्री समक्ष बजेटको माग समेत गरेका थिए । प्रतियोगिता संयोजक महेश खुलालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभापति सञ्जिव पाठक, पर्साखैरहनी जेसीजका अध्यक्ष नारन उप्रेती, सल्लाहकार विदुरविक्रम थापा, कार्यकारिणी उपाध्यक्ष सुरेश गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको उद्घाटनमा स्थानीय जनप्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
मनहरी गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन एवम् अन्य विभिन्न संघसंस्थाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा हेटौंडा १३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा मनहरी ४ नम्बर वडालाई २–० ले हराउँदै नमोबुद्धले विजय यात्रा सुरु गरेको हो । २६ औं मिनेटमा सुनिल लामाले गोल गर्दै नमोबुद्धलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा सामुयल सुनारले अग्रता दोब्बर बनाए । मनहरी ४ ले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ । खेलको म्यान अफ द म्याच नमोबुद्धका सामुयल सुनार नै घोषित भए । उनले विभिन्न पुरस्कार प्राप्त गरे । जारी प्रतियोगितामा शनिबार हाँडीखोला यूथ क्लव र जनसिद्ध क्लवको बीचमा खेल हुने प्रतियोगिताका सहसंयोजक उज्वल विष्टले जानकारी दिए ।
मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अर्का सहसंयोजक प्रदीप थापाले जानकारी दिए ।