हेटौंडा, राष्ट्रपति निर्वाचनको बिषयलाई लिएर नेपालको राजनीतिमा आएको उतारचढावसँगै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ गते विश्वासको मत लिने भएका छन् ।
यस प्रयोजनका लागि प्रदेशसभा सचिवालयले ८ गते दिउँसो ३ बजे बैठक बोलाएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले ८ गतेका लागि बैठक बोलाइएको जानकारी दिए । केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो ।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री रहेका छन् । केन्द्र सरकारबाट बाहिरिएपनि एमालेले प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने अझै निर्णय गरिसकेको छैन । केन्द्रको निर्देशन अनुसार अघि बढ्ने तयारीमा एमाले रहेको छ ।







