उपमहानगरलाई अनावश्यक ‘प्रेसर’ दिँदै जग्गा व्यवसायी

हेटौंडा, मकवानपुरका घरजग्गा व्यवसायीले हेटौंडा उपमहानगरपालिकालाई अनावश्यक दवाव दिएका छन् । व्यवसायीहरुको समूहले मंगलबार उपमहानगरपालिकाको कार्यालयमा पुगेर धर्ना र्दिँदै तत्काल जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गरेर नापी र मालपोत कार्यालयमा पत्राचार नगरे ठीक नहुने भन्दै दवाव दिएका हुन् ।

ADVERTISEMENT

उनीहरुले जग्गा वर्गीकरणको निर्णय तत्काल नगरे उपमहानगरमा तालाबन्दी गर्ने सम्मको दवाव दिएको छ । आइतबार दिउँसो घरजग्गा व्यवसायी संघका अध्यक्षले उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको कार्यकक्षमै पुगेर अनावश्यक दवाव दिएको घटना सार्वजनिक भएको थियो । त्यसपश्चात व्यवसायीहरु मेयर लामाले धम्की दिएको भन्दै आक्रोशित भएका थिए । मेयर लामाले जग्गा व्यवसायीलाई झपारेको बिषयलाई लिएर उनीहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । मेयर लामाले निर्वाचन आचारसंहिता जारी भइसकेको र उपमहानगरपालिकाले गर्ने नीतिगत निर्णयले चुनावमा प्रत्यक्ष असर पर्ने भन्दै चुनाव अघि जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गर्न नसकिने प्रतिक्रिया दिएकी छिन् ।

आफू जनताबाट चुनिएर आएको प्रतिनिधि भएको स्मरण गराउँदै उनले जनताको हितमा काम गर्ने बताइन् । यता व्यवसायीहरुले भने आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेका छन् । आज बुधबार हेटौंडा उपमहानगरपालिकामा धर्ना तथा प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने, २४ गते उपमहानगरपालिकाको कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्ने, २५ गते नगर प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी र २७ गते हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण सेवा ठप्प पार्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *